काठमाडौ ४ साउन । नेपाल कम्युनिस्ट पार्टी मसाल ले अनशनरत डा गोविन्द केसीमाथि धरपकड गरेको भन्दै आपत्ति प्रकट गरेको छ ।
मसालका महासचिव मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षासम्बन्धी माग राखेर अनशनरत डा गोविन्द केसी र उनका समर्थकमाथि गरिएको धरपकडको निन्दा गरेका हुन् । बलप्रयोगबाट नभई वार्ता र संवादमार्फत समस्याको स्थायी समाधान खोज्न समेत सरकारसँग माग गरिएको छ ।
डा केसीको जीवनरक्षासहित उनको न्यायपूर्ण मागहरूलाई स्वीकार नगरेर सरकारले गलत बाटो समातेको मसालको ठहर छ ।“डा। केसीको जीवनरक्षा गर्नु अहिलेको अत्यन्त महत्वपूर्ण कार्य हो । तर उनको जीवनरक्षा त्यस प्रकारको जर्बजस्ती कारवाही गरेर होइन, न्यायपूर्ण मागहरूलाई स्वीकारेर गर्नुपर्दथ्यो र पर्दछ पनि ।’’ मसालका महासचिव सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
मसालले केसीका माग व्यक्तिगत नभएर जनताका भएकाले माथेमा प्रतिवेदनअनुसार यसको समाधान खोज्न सुझाब दिएको छ ।
Comments