तेह्रथुम ४ साउन । लामो समयदेखि पानी नपरेपछि तेह्रथुममा मकैका बोटहरु सुक्न थालेका छन् । तेह्रथुमका सुख्खाग्रस्त दर्जनभन्दा बढी गाउँमा खडेरीले मकैको बोटहरु सुक्न थालेको हुन् ।
मुख्य खाद्यबालीको रुपमा खेती गर्दै आएका किसानहरु बोटमै मकै सुक्न थालेपछि आगामी वर्ष के खाने भनेर चिन्ता गर्न थालेका छन् । बारीमा फल लाग्ने बेला भएको मकैको बोटै सुक्न थालेपछि गाउँमा भोकमरीको सम्भावना निम्तिने सम्भावना बढेको छथर गाउँपालिका–४ फाक्चामाराका विष्णु सुवेदीले बताउँछन् ।
छथर गाउँपालिकाको फाक्चामारा, पञ्चकन्या, हमरजुङ, सुदाप र ओख्रेका विभिन्न गाउँका किसानले लगाएको मकैका बोटै सुक्न थालेका छन् । फेदाप गाउँपालिकाको सिम्ले र जलजलेमा पनि मकै खडेरीले सुकाएको गाउँपालिकाका उपाध्यक्ष गीतादेवी थापाले बताइन्। वैशाख र जेठ महिनामा केही पानी परेको बताउँदै उनले भनिन्, ‘त्यसैले गाउँमा खेतमा रोपाइँ हैन, बारीमा लगाएको मक समेत सुकेर जाने अवस्था आएको छ ।’
आठराई गाउँपालिकाको थोक्लुङ, चुहानडाँडा, सक्रान्ति, छातेढुंगालगायत गाउँमा पनि खडेरीले मकै सुक्न थालेको छ । किसानले लगाएको मकै बाली मात्र हैन, गहत, कोदोलगायत बालीमा समेत खडेरीले प्रभाव पारेको छ ।
Comments