काठमाण्डौ, ६ बैशाख । सरस्वती युथ क्लबका पूर्वकप्तान दिपेश श्रेष्ठ चोरी काण्डमा पक्राउ परेका छन् । मोबाइल, ल्यापटप लगायतका सामग्री चोरेर बेचेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।
प्रहरीले हिजो काठमाडौं–६, रेम्बोडाँडाबाट बाच्छो भनिने सुवास खड्कालाई शंकास्पद अवस्थामा भेटेको थियो । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा साथीसँग मिलेर चोरीका सामान किनबेच गर्ने गरेको बयान दिए । प्रहरीका अनुसार चोरीका सामान फुटबलर श्रेष्ठको कोठामा लुकाएर राख्ने गरेको पाइएको छ ।
खनतलासीका क्रममा श्रेष्ठको कोठाबाट विभिन्न ब्रान्डका ३३ वटा मोबाइल, दुई वटा आइफोन, ३ वटा पावर बैंक, सोनी कम्पनीको ३२ इन्जको टिभी एक थान, ५ वटा ल्यापटप लगायतका सामग्री बरामद भएको छ ।
हाल प्रहरी हिरासतमा रहेका श्रेष्ठले चोरीमा संलग्न भएको स्वीकार गरेका छन् । सुवाससँग एक वर्षदेखि चिनजान रहेको र साथीकै लहैलहैमा लागेर चोरी गरेको उनले बताएका छन् ।
चोरीका सामानहरु फेसबुक ग्रुप र अनलाइन किनबेच गर्ने वेवसाइटमार्फत विक्री वितरण गर्दै आएको बयान दिएका छन् ।
पक्राउ परेका दुवै जनामाथि मुलुकी ऐनको चोरीको महल बमोजिम सजाय हुने परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।
बजारबाट आएका चोरीका मोबाइल दिपेशले ५० प्रतिशत कम मुल्यमा हाम्रो बजार डटकम लगायतका अनलाइन माध्यमबाट बेच्दै आएको काठमाडौं प्रहरीका एसएसपी विश्वराज पोखरेलले बताए ।
दिपेशले नेपाल पुलिस क्लबबाट पनि व्यावसायिक फुटबल खेलिसकेका छन् ।
सरस्वती क्लबका पूर्वकप्तान श्रेष्ठ चोरी काण्डमा पक्राउ
0
Share.
Comments