भक्तपुर । भक्तपुरको सूर्यबिनायकचोकदेखि जगाती चकुखोलासम्म सडक पेटी अतिक्रण हटाउने प्रक्रिया सुरु भएको छ । सडक पेटी अतिक्रमण गरि राखिएका सामानहरु हटाउन सो क्षेत्रका घरेबेटी र पसलवालाहरुलाई डिभिजन सडक कार्यालय भक्तपुर सहित सूृर्यबिनायक नगरपालिका ८ का वडाअध्यक्ष किरण थापाले आग्रह गरेका थिए । आग्रहपछि उनीहरुले सडक पेटी अतिक्रमण गरि राखिएको सामानहरु हटाउन तीन दिने सहमती गरेका छन् । सडकमा राखिएका सामानहरु हटाउँदा हुन सक्ने अवरोधलाई मध्येनजर गर्दै व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उक्त स्थानमा सडक पेटि अतिक्रमणको ब्यापक चर्चा चलिरहेका बेला सडक कार्यालयले उक्त कदम चालेको हो । सडक अतिक्रमणका बारे बिभिन्न सञ्चार माध्यममा समाचार निरन्तर आएता पनि सरोकारवालाहरुको ध्यान यता तर्फ जान नसक्दा सडक यात्रुहरुले सास्ती खेप्नु परेको थियो भने पाँच मिनेटको बाटो पार गर्न पन्ध्र मिनेटसम्म लाग्ने गरेको थियो । सडक अतिक्रमण गरि बिभिन्न सामान राखिरहेका पसलेहरुसँग सडकको मापदण्डअनुसार तीन दिन उक्त सडक क्षेत्रमा राखिएको सामानहरु हटाउनु पर्ने सहमती गरेका छन् ।
सहमती अनुसार अब आउने आइतबारसम्म सूर्यबिनायकचोकदेखि जगाती क्षेत्रसम्म सडकमा राखिएका सामाग्रीहरु कारण सवारी साधन र यात्रुहरुले सास्ती खेप्नु नपर्ने सडक कार्यालयले जानकारी दिएको छ । यती कसैले सहमतीको पालना नगरे सडक अतिक्रमण गरि राखेको सामाग्रीहरु सडक कार्यालयले नियन्त्रणमा लिने र कारावाहीको प्रक्रिया अगाडी बडाउने समेत कार्यालय स्रोतले जानकारी दिएको छ । लामो समयदेखि सरोकारवालाहरुको ध्यान जान नसकेको उक्त सडक अतिक्रमणलाई हटाउन सरोकारवालाहरुले खेलेको भूमिका सकारात्मक रहेको सडक यात्रु र स्थानिहरु बताउँछन् ।
Comments