काठमाडौं । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका वडा न २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य बाजुराले जनाएको छ ।
मंगलबार दिउँसो भूकम्प गएको बेला जंगलमा घाँस काटिरहेको बेलामाथिबाट ढुगां खस्दा उनको मृत्यु भएको स्थानीयले बताएको प्रहरीको भनाइ रहेको छ । घटना भएको भनिएको ठाउँमा प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्य थापाले बताएका छन् । थापाले स्थानीयले दिएको जानकारीअनुसार अपुष्ट खबर भएकोले यस विषयमा प्रहरीको टोली घटना स्थलमा पुगेपछि मात्र जानकारी हुने बताएका छन् ।
त्यसै गरी भेडा चराउन गएका गौमुल गाउँपालिका वडा न १ का एक जना घाइते भएका छन् । जंगलमा भेडा चराउन गएका बेला माथिबाट पहिरो आउँदा ४० देखि ५० भेडा मरेको र गाठालो गएका रामदल बोहरा घाइते भएको स्थानीय सुवास रोकायाले बताएका छन् । उनको नजिकको स्वास्थ्य संस्थामा उपचार भइरहेको स्थानीय सुवास रोकायाले जानकारी दिएका छन ।
अहिलेसम्मको जानकारीअनुसार बडिमालिका नगरपालिका ७ रजातोलीका हरिचन्द पाध्या र सोही नगरपािलका ८ का हर्क गुरुङ र बिरजिते चदाराका घरहरू भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ‘अरू क्षतिबारे प्रहरीले विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यसै गरी बडिमालिका ७ सिराडीमा पनि एक घर भत्किएको र मानवीय क्षति नभएको स्थानीय पत्रकार रामबहादुर बिकले बताएका छन् । जिल्लामा दर्जनौँ घरहरूमा क्षति गरेको अनुमान गरिएको छ ।
प्रकाशित मितिः २०७९ माघ १० मंगलबार
Comments