काठमाडौं । प्रधानमन्त्री कप टी २० महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले जितका साथ प्रतियोगिता अन्त्य गरेको छ । समूह एमा रहेको बागमती लगातार २ खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको बागमतीले गण्डकी प्रदेशमाथि ३७ रनको जित दर्ता गरेको हो ।
गण्डकी प्रदेश भने सवै खेल गुमाउँदै बाहिरिएको छ । यो समूहबाट सुदूरपश्चिम शतप्रतिशत जितका साथ सेमिफाइनल पुग्दा एपीएफ उप विजेताको रुपमा पुगेको छ । इटहरीमा आज भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई १३६ रनको लक्ष्य लिएको थियो ।
निर्धारित ओभरमा ५ विकेट गुमाएर ९८ रनमात्रै बनाउन सक्यो । गण्डकीका लागि सिमना केसीले सर्वाधिक ३६ रनको पारि खेलिन् । तर उनले हार जोगाउन असफल भइन् । यसैगरी सृष्टि जैसी ३४ रन जोड्दा अरुले दोहोरो अंकमा रन बनाएनन् ।
बागमतीकी अस्मिना कर्माचार्यले ३ विकेट लिँदा विपीशा शाही र सेविका यादवले एक एक विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो ।
कन्चन श्रेष्ठले ५६ रनको अर्धशतकीय पारि खेलेकी थिइन् । उनले अस्मिना कर्माचार्यले १८, सोनी पाख्रिनले १३ तथा अस्मिता खरेलले १२ रन जोडीन् । यसैगरी हेलिषा गुरुङले ११ रनको योगदान गरिन् । यसैगरी कुसुम गोदार, सृष्टि जैशी, निरुता जिटी, सिमना केसीले एक एक विकेट लिए ।
प्रकाशित मितिः २०७९ पुष ०४ बुधबार
Comments