रौतहट । यही वैशाख ३० गते मतदानका दिन यमुनामाई गाउँपालिका वडा नं. २ स्थित श्रीमावि भेडियाही स्कुलमा रहेको मतदान केन्द्रबाट मतपेटीका लुट्ने एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
केही मानिसहरु मतदान केन्द्रभित्र जबरजस्ती प्रवेश गरी मतपेटीका लुटेर लगेका थिए। सुरक्षाकर्मीले उक्त मतपेटीका त्यसैदिन नियन्त्रणमा लिएको थियो । प्रहरीले केही राउण्ड हवाई फायर गरेपछि मतपेटीका छाडेर फरार रहेका रौतहटको यमुनामाई गाउँपालिका वडा नं. २ का ४६ वर्षीय चन्देश्वर बैठालाई प्रहरीले पक्राउ गरेको हो।
बिहीबार राति बैठालाई पक्राउ गरी शुक्रबार दिउँसो सार्वजनिक गरेको हो । पक्राउ परेका बैठालाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानुनी कारबाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको रौतहटका एसपी बिनोद घिमिरेले जनाएका छन् ।
प्रकाशित मितिः २०७९ जेठ ०६ शुक्रबार
Comments