काठमाडौं । बौद्ध धर्मको प्राचीन पुरातात्विक बहुमूल्य ग्रन्थ हो भन्दै नगद ठगी गर्ने दुई जनालाई प्रहरीले काठमाडौं महानगरपालिका-२२ न्यूरोडबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३०, मैतीदेवी बस्ने सप्तरीका ४७ वर्षीय प्रशान्तप्रताप सिंह र काठमाडौं महानगरपालिका-८, मृगस्थली बस्ने दाङका ६५ वर्षीय छन्त्याल भन्ने पूर्णबहादुर मगर रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले दुई जनालाई चार करोड पर्ने पुरातात्त्विक महत्त्वको धार्मिक पुस्तक खरिद गर्न लागेको र पैसा नपुगेकाले पुस्तक विश्वासका लागि बन्धकी स्वरुप राखी केही रकम दिनुहोस् भनेर १५ लाख पाँच हजार रूपैयाँ ठगी गरेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा मीनभवनले जनाएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
प्रकाशित मितिः २०७८ साउन १५ शुक्रबार
Comments