काठमाडौं । फाइजरले ठूलो सङ्ख्यामा १२ वर्षमुनिका बालबालिकामा खोप परीक्षण गर्ने भएको छ ।
अमेरिकी खोप निर्माता कम्पनी फाइजरले अमेरिका, फिनल्यान्ड, पोल्यान्ड तथा स्पेनका ९० भन्दा धेरै स्थानमा चार हजार पाँच सय बालबालिकामा खोपको कम डोज परीक्षण हुने जनाएको हो । यही साता फाइजरले पाँचदेखि ११ वर्षसम्मका एक सय ४४ बालबालिकामा पहिलो अध्ययन सुरू गरेको थियो ।
सुरक्षा, सहनशीलता र प्रतिरोधात्मक क्षमताको आधारमा पाँचदेखि ११ वर्ष उमेरका बालबालिकामा १० माइक्रोग्राम र छ महिनादेखि पाँच वर्ष उमेरका शिशुहरूमा तीन माइक्रोग्राम डोज परीक्षण गर्ने भएको छ । अन्य उमेर समूहका मानिसलाई भने खोपको ३० माइक्रोग्राम डोज दिइँदै आएको हो ।
पाँचदेखि ११ वर्ष उमेरका बालबालिकामा गरिने परीक्षणको डाटा सेप्टेम्बरसम्म प्राप्त हुने र आपतकालीन प्रयोगको अनुमति मागिने फाइजरका प्रवक्ताले बताएका छन् । त्यस्तै, छ महिनादेखि दुई वर्षसम्मका बालबालिकामा गरिएको परीक्षणको तथ्याङ्क अक्टुबर वा नोभेम्बरमा आउने अपेक्षा राखिएको छ ।
फाइजर बायोएनटेकको खोपले अमेरिका, क्यानडा र युरोपेली युनियनमा १२ वर्ष र सोभन्दा माथिको उमेरका मानिसमा आपतकालीन प्रयोगको अनुमति पाइसकेको छ । रोग नियन्त्रण तथा रोकथाक केन्द्र ९सिडिसी० का अनुसार अमेरिकामा झन्डै ७० लाख किशोरकिशोरीले खोपको पहिलो डोज लिइसकेका छन् ।
कोभिड १९ लाई नियन्त्रण गर्न तथा हर्ड इम्युनिटी पाउन बालबालिका तथा युवा समूहलाई खोप लगाउनु महत्वपूर्ण हुने विज्ञहरू बताउँदै आएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ २६ बुधबार
Comments