काठमाडौं । मनसुनको बेलामा आउने स्वास्थ्य समस्याहरूको सामना गर्न तयारी अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विपत्तिको बेलमा आइपर्ने विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले बताए ।
वर्षा याममा डेंगु, मलेरिया, झाडापखाला, ज्वरोलगायत स्वास्थ्य समस्या आउने भन्दै उनले ती समस्या समाधानका निम्ति स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको बताए । विपतबाट तुरुन्त उद्दार गर्नका लागि प्रत्येक स्थानीय तहमा र्यापिड रेन्स्पोन्स टिम गठन गर्नका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर राखिएको पनि उनले जानकारी दिए ।
प्रवक्ता पौडेलले आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको पनि बताए । उने भने, ‘डेंगुलगायतका बिरामीलाई चाहिने एन्टिजेन किट, परीक्षण सामग्री, मलेरियाको आरडिटी, डेंगुको किट, झाडापखालाका लागि जीवनजललगायत औषधिको व्यवस्थापन केन्द्रीय स्टोर, प्रदेशस्थित मेडिकल स्टोर र जिल्लाहरूसँगको समन्वयमा त्यो व्यवस्थापनको काम हुन्छ ।’
उनले स्थानीय तह तथा प्रदेशले केन्द्र सरकारसँग माग गरेको खण्डमा केन्द्रमा पनि र्यापिड रेस्पोन्स टिम बनाइसकेको बताए ।
प्रकाशित मितिः २०७८ जेठ २२ शनिबार
Comments