काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोसँगै टहरा बनाई सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ ।
सोलुखुम्बु घर भई हाल मनोहराको सुकुम्बासी बस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको गाईफार्ममा खुकुरी प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
हत्यामा संलग्न काठमाडौँ गोठाटार घर भई सूर्यविनायक बस्ने २० वर्षीय आशिष खुलाललाई प्रहरीले चारैतिर घेरा हाली पक्राउ गरेको छ । अनुसन्धानका क्रममा खुलालले सामान्य विवादमै खुकुरी प्रहार गरी हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार खुलाललाई भेट्न गाईफार्म पुगेका राई, महोत्तरी जिल्ला घर भई मनोहरा सुकम्बासी बस्ती बस्ने युनिष योञ्जन र सुनिल बलबीच कुराकानीकै क्रममा विवाद भएको थियो । राई र खुलालबीच विवाद बढेपछि खुलालले कोठाबाट खुकुरी ल्याई राईलाई हान्न थालेपछि योञ्जन र बल झ्यालबाट भागेर ज्यान जोगाएका थिए ।
विहीबार दिउँसो ४ बजे तिर घटनाको जानकारी पाएलगत्तै प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाको टोलीले हत्या गरी भाग्दै गरेका कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार स्थायी घर भई सिपाडोलमा गाईफार्ममा रहेका खुलाललाई पक्राउ गरेको हो ।
घटनापछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक तारादेवी थापासमेतको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको तथा घटनास्थलबाट हत्यामा प्रयोग भएको खुकुरी बरामद गरिएको छ । खुकुरी प्रहारबाट मृतक राईको घाँटी र टाउकोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रकाशित मितिः २०७८ बैशाख ०३ शुक्रबार
Comments