भक्तपुर । भक्तपुर मध्यपुर थिमिको विस्का जात्राः अर्थात जिब्रो छेड्ने जात्रा अन्तर्गत बोडेका स्थानिय बुद्धकृष्ण श्रेष्ठले आठौँ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन् । यस अघि पनि विभिन्न समयमा उनले ७ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए ।
बुद्धकृष्णले २०६२ साल देखि २०६५ साल सम्म ४ पटक निरन्तर जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि फेरी २०७४ साल देखि २०७६ साल सम्म तीन पटक जिब्रो छेडाए ।
पेशाले एम्बुलेन्स चालक रहेका बुद्धकृष्णले अघिल्लो वर्ष कोरोनाको कारणले एम्बुलेन्स चलाउनुपरेकाले जिब्रो छेड्न पाएनन् । जिब्रो छेड्नकै लागि तीन दिनदेखि उनी भोकै बसेका थिए । जिब्रो छेड्नकै लागि करिब एक फिट लामो सुइरोलाई एक महिना अगाडी देखि तेलमा डुबाएर राखिएको थियो । नयाँ बर्षको दोस्रो दिन कर्मी नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्राङ्गणमा जिब्रो छेडाउने गरिन्छ ।
जिव्रो छेडिसकेपछि बाँस एवम् निगालोले बनेको अर्धचन्द्राकार महाद्वीप बालेर बुद्धकृष्णले वोकेर बाजागाजा सहित वोडे नगर परिक्रमा गर्ने चलन छ । नगर परिक्रमा पछि बोडे कै महालक्ष्मि मन्दिर गरि सुइरो निकालि त्यहि राख्ने प्रचलन छ । जिब्रो छेडाएका व्यक्तिले पनि सोहि मन्दिरको माटो सुइरोले घाउ बनाएको जिब्रोमा राख्ने गरिन्छ ।
दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको सिङ्गो ऐतिहासिक, धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ । किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाएर तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरि पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको हो ।
भीमदत्तले अब उप्रान्त बोडेमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने बाचा गराएर छाडिदिएको किंवदन्ती छ ।
प्रत्येक बर्षको बैशाख २ गतेका दिन श्रेष्ठ थरका व्यक्तीले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएको छ । जिब्रो छेड्न व्रत बस्दा कुकुर, हाँस, कुखुरा र महिलालाई समेत छुन नहुने चलन छ । गत बर्ष विश्वभर फैलिएको कोरोना माहामारी र लकडाउनका कारण जिब्रो छेड्ने जात्रा रोकिएको थियो ।
प्रकाशित मितिः २०७८ बैशाख २ बिहिबार
Comments