भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा बिस्काः जात्रा अन्तर्गत आज सिन्दुर जात्रा अर्थात सुथःसिया जात्रा उल्लासका साथ मनाईरहेका छन् ।
प्रत्येक नयाँ बर्षको दोस्रो दिन बैशाख २ गते थिमि नगरमा बिहान ७ बजे सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको हो ।
जात्रा सुरु भएपछि हात हातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो । यसै गरी विष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाइ रहेका छन् ।
थिमिमा ३२ वटा खट सहभागी रथ बोकेर परम्परागत रुपमा सिन्दुर जात्रा गर्ने भएपनि हाल १९ वटा खटको सहभागी हुने गरेको छ । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली सिन्दुरेजात्रा मनाइने परम्परा रहेको छ ।
जात्रामा जात्रालुहरुले प्रत्येक चोक, चौबाटो, घर र टोलमा सिन्दुर छर्ने गर्दछन् । जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।
त्यसैगरी आज दिउँसो थिमिकै बोडेमा जिब्रो छेड्ने जात्रा मनाईन्छ । यस पटक पनि बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाउने भएको छ । आज उहाँले आठौं पटक जिव्रो छेड्न लाग्नु भएको हो ।
गत वर्ष कोरोना कहरका कारण भक्तपुर र मध्यपुर थिमिमा मनाइने बिस्काः जात्रा प्रभावित भएको थियो ।
प्रकाशित मितिः २०७८ बैशाख ०२ बिहिबार
Comments