भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज आइतबारदेखि कक्षा ११ को परीक्षा देशभर सुरु भएको छ ।
कक्षा ११ को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको परीक्षा आजदेखि सुरु भएको हो ।
परीक्षामा देशभरका १ हजार १ सय ७ परीक्षा केन्द्रबाट ५ लाख ८ हजार ४ सय ९४ परीक्षार्थी सहभागी छन् ।
कक्षा ११ को परीक्षामा सबैभन्दा कम मनाङ जिल्लामा ५१ जना र सबैभन्दा धेरै काठमाडौंमा ७१ हजार ५ सय २७ परीक्षार्थी सहभागी भएका छन् । परीक्षाको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सबै प्रश्नपत्रको सुरक्षा २४ सै घन्टा सीसीटिभीबाट दिइने बोर्डले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा प्रत्येक जिल्लामा जिल्ला परीक्षा समन्वय समिति गठन भएको तथा उक्त समितिलाई जिल्ला भरिका परीक्षा केन्द्रहरुको अनुगमन गर्ने अधिकार दिएको छ । यो वर्षको परीक्षामा परीक्षा हलभित्र फोटो खिच्न, अडियो, भिडियो रेकर्ड गर्न निषेध गरिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ ।
आज बिहान ७ बजेबाट सुरु भएको परिक्षा जेठ ८ गतेसम्म चल्नेछ ।
Comments