काठमाडौं, १९ असार । शिक्षा मन्त्रालय र आन्दोलनरत ९ विद्यार्थी संगठनबीच ९ बुँदे सहमति भएको छ । आन्दोलनरत प्रतिपक्षी संयुक्त विद्यार्थी आन्दोलन, शिक्षा मन्त्रालय र प्याब्सन, एनप्याब्सन र अभिभावक संघ समेतको उपस्थितिमा भएको वार्तासँगै ३ दिने शैक्षिक हड्ताल स्थगित भएको छ ।
हिजो अपराह्न ४ः३० देखि राति ११ः३० बजेसम्म शिक्षा मन्त्रालय सिंहदरबारमा भएको ७ घन्टा लामो वार्तासँगै तीन दिने शैक्षिक हड्ताल स्थगित गरिएको नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतमले जानकारी दिए ।
‘लामो समयको संघर्षपछि ९ विद्यार्थी संगठनको प्रतिपक्षी विद्यार्थी आन्दोलन शिक्षा मन्त्रालयसम्म पुगेको छ,’ अध्यक्ष गौतमले भने, ‘अब कागजमा भएका सहमतिलाई लागू गराउन हामी थप र प्रभावकारी आन्दोलनमा जुटिरहन्छौं ।’
बढाइएको शुल्क वृद्धि फिर्ता गर्नेलगयातका सहमति भए पनि विश्वविद्यालयमा विद्यमान राजनीतिक भागबण्डा अन्त्य गर्ने, दूतावासले चलाएका विद्यालय बन्द गराउने लगायतका मागहरु पूरा गर्न प्रतिपक्षी विद्यार्थी आन्दोलन अगाडि बढिरहने गौतमले बताए ।
वार्तामा शिक्षा मन्त्रालयको तर्फबाट सहसचिव सूर्यप्रसाद गौतम, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, प्याब्सन कार्यवाहक अध्यक्ष डिके ढुंगाना, एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा सहभागी थिए ।
हेर्नुहोस् सहमति पत्र
Comments