काठमाडौं । भारतको राजस्थानमा मुटु कँपाउने घटना भएको छ । त्यहाँ १२ वर्षका एक बालकले आफ्नो दाइको मोबाइलको डेटा सकिदिएपछि रिसाएको दाइले भाइलाई चक्कु हानेर मारेका छन् । भाइलाई रगतपच्छे पारेर छोडेपछि दाइ घरबाट भागेका दाइलाई प्रहरीले पक्राउ गरेको छ ।
घटना बुधवार बेलुका भएको हो । रोय नामक बालकलाई दाइ रमनले घरको छतमा लगे अनि चक्कुले चारपटक आक्रमण गरे । रोय रगतको आहालमा डुबेको देख्दा आमा र दिदीहरू आत्तिए । हतारहतार अस्पताल लग्दा रोयलाई चिकित्सकहरूले मृत घोषित गरे ।
आरोपित रमनले परिवारको भरणपोषण गर्ने गरेको थियो । ऊ टेनिस सिकाएर पैसा कमाउँथ्यो । रमन र रोयका पिता कैलाशदान चारणले २३ वर्षअघि जापानी महिलासँग विवाह गरेका थिए । उनका तीन छोरी र दुई छोरा थिए ।
पाँच छोराछोरीमा रोय कान्छा थिए । रमनको मानसिक सन्तुलन ठीक नभएको भनी प्रहरीले बताएको छ । पिता कैलाशदानको पनि मानसिक स्थिति राम्रो छैन ।
भाइलाई चक्कु हानेपछि रमन घरबाट निस्कियो । घटनाको जानकारी पाउनेबित्तिकै प्रहरीले खोजतलाश गर्दा ऊ रेलवे स्टेसनमा डुलिरहेको भेटियो । अनि प्रहरीले उसलाई पक्राउ गर्यो । रोयको पोस्टमोर्टम गरेर परिवारलाई शव सुम्पिइएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ मंसिर ०५ शुक्रबार
Comments