काठमाडौँ । कोरोनाभाइरसको उच्च जोखिममा रहेको मानिसलाई गत जुलाई महिनामा परीक्षणकै क्रममा खोप दिने चीनको निर्णयलाई विश्व स्वास्थ्य संगठनले समर्थन गरेको एक चिनियाँ स्वास्थ्य अधिकारीले शुक्रवार बताएका छन् ।
चीनले आकस्मिक खोप कार्यक्रम जुलाई महिनामा शुभारम्भ गरेको थियो र त्यसका लागि जुन महिनाको अन्त्यतिर यसका लागि विश्व स्वास्थ्य संगठनसँग कुराकानी गरेको थियो, चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी झेङ झोङवेईले बताए ।
हजारौं स्वास्थ्यकर्मी र संक्रमणको उच्च जोखिम भएका सीमित समूहका अन्य व्यक्तिलाई खोप दिइएको हो । ‘आकस्मिक रूपमा प्रयोग गरिएको कोभिड–१९ खोप सुरक्षित छ भनी हामीले स्पष्ट पारेका छौं,’ झेङले भने । ‘खोपको सुरक्षा सुनिश्चित छ तर प्रभावकारिता अझै निश्चित हुन बाँकी छ ।’
विभिन्न देशले राष्ट्रिय नियमकानूनका आधारमा कुनै पनि स्वास्थ्य उत्पादनको आकस्मिक उपयोग गर्न पाउने स्वायत्तता रहेको विश्व स्वास्थ्य संगठनकी उपमहानिर्देशक डा मारियांगेला सिमाओले जेनेभामा शुक्रवार आयोजित पत्रकार सम्मेलनका क्रममा बताइन् ।
विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले कोरोनाभाइरस खोपको आकस्मिक प्रयोगको अनुमति अस्थायी समाधान भएको र दीर्घकालीन समाधान तेस्रो चरणको परीक्षण सकिएपछि मात्र देखिने बताएकी छन् ।
प्रकाशित मितिः २०७७ असोज १४ बुधबार
Comments