काठमाडौं । उत्तर कोरियाले देशको सैन्य तथा परमाणु क्षमता बिस्तार गर्ने तयारी थालेको छ । देशको सैन्य क्षमता बिस्तारको उपाय तथा नीतिहरु तय गर्नका लागि सत्ताधारी कम्युनिष्ट पार्टीको बैठक बसेको उत्तर कोरियाको सरकारी समाचार संस्थाले जनाएको छ ।
समाचार संस्था कोरियन सेन्ट्रल न्यूज केसिएनएले आइतबार जनाए अनुसार वर्कर्स पार्टी अफ कोरिया डब्लुपिकेको केन्द्रीय सैन्य कमिसनको बिस्तारित बैठकमा सैन्य क्षमता बिस्तार सम्बन्धमा छलफल भएको हो ।
देशको सर्वाभौमसत्ताको रक्षा तथा स्थिरता कायम गर्नका लागि सैन्य क्षमता थप बलियो बनाउनु पर्ने दिएकाले त्यसको रणनीति बारे बिस्तारमा छलफल भएको केसिएनएले उल्लेख गरेको छ ।
बैठकले देशको सैन्य क्षमता बिस्तारका लागि परमाणु बिस्तार थप गर्ने सम्बन्धी नीति तय गरेको र देशको रणनीतिक सैन्य शक्तिलाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय गरेको जनाइएको छ । बैठक उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनको अध्यक्षतामा भएको हो । बैठक कहिले बसेको थियो भन्ने खुलाइएको छैन । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ ११ आइतबार
Comments