काठमाडौं । बंगलादेशी विमान चालकले चीनमा फसिँरहेका आफ्ना नागरिकको उद्धारका लागि उडान भर्न अस्वीकार गरेका छन्। उनीहरूले सरकारलाई उद्धारको योजना रद्द गर्न दबावसमेत दिएका छन्। बंगलादेशले गतसाता आफ्ना ३१२ नागरिकलाई उद्धार गरेको थियो।
थप १७१ जनालाई यसैसाता लिन जाने योजना बनाइएकोमा पाइलटले असहमति जनाएका हुन्। चीनमा फसिरहेकामा धेरैजसो बंगलादेशका विद्यार्थी छन्। ‘चालकदलका कुनै पनि सदस्य चीन जान मानिरहेका छैनन्’, विदेशमन्त्री एके अब्दुल मोमेनले भने, ‘पहिले गएकाहरू पनि अहिले जान मानेनन्। जहाज पठाउन नसकिएकाले चीनमा रहेकालाई ल्याउन सकिएन।’
बंगलादेशमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन्। पहिले लटमा चीनबाट फर्काइएका र चीन गएर फर्किएको चालक दलका सदस्यहरू समेतलाई १४ दिने क्वारेन्टाइनमा राखिएको छ। अहिलेसम्म कसैमा कुनै समस्या देखिएको छैन। स्वदेशी चालकले आनाकानी गरेपछि सरकारले चिनियाँ विमान चार्टर गर्नेतर्फ ध्यान दिएको छ। तर अहिलेसम्म जहाजको टुंगो नलागेको एजेन्सीहरूले जनाएका छन्।
प्रकाशित मितिः २०७६ माघ २७ सोमबार
Comments