काठमाडौं । हङकङको एक अस्पतालमा बम आक्रमण गरिएको छ । आक्रमणपछि अस्पतालबाट मानिसलाई बाहिर निकालिएको छ र केही बेर काम अवरुद्ध भएको छ । यसअघि मुकुण्डोधारी विरोधकर्ताहरूले कोरोनाभाइरसका संक्रमितहरूलाई क्वारेन्टाइन गर्न प्रस्तावित क्षेत्रमा पेट्रोल बम फ्याँकेका थिए ।
कारितास मेडिकल सेन्टरको बाथरूमभित्र राखिएको बम सोमवार बिहान साढे २ बजे विस्फोट भएको थियो । करीब २० रोगीलाई बाहिर निकालिएको थियो अनि त्यसपछि बम स्क्वाडले घटनास्थल अवलोकन गरेको थियो । अस्पतालको आकस्मिक विभागले केही समयका लागि काम रोकेको थियो । विस्फोटमा कोही पनि घाइते भएनन् ।
‘विस्फोटपछि सेतो धूँवा र सानो आगो देखियो,’ चीफ इन्स्पेक्टर चोङ किउ–वाइले संवाददाताहरूलाई बताए । बम धेरै शक्तिशाली नभएको र त्यसले धेरै क्षति नगरेको उनले बताए । बमलाई शीशाको बोतलमा राखिएको थियो र त्यो पड्कियो । कसले बम विस्फोट गराएको स्पष्ट छैन ।
आइतवार मुकुण्डोधारी सरकारविरोधी प्रदर्शनकारीहरूले खाली सार्वजनिक भवनमा पेट्रोल बम फ्याँकेका थिए । अधिकारीहरूले त्यहाँ मानिसलाई कोरोनाभाइरसको क्वारेन्टाइन गराउने योजना बनाइरहेका थिए । अहिले मुख्यभूमि चीनमा कोरोनाभाइरसको संक्रमण फैलिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ माघ १३ सोमबार
Comments