काठमाडौं ।पोर्चुगिज क्लब च्याम्पियन्स लिग फुटबलको छनौट चरणबाटै बाहिरिएको छ । छनौटको तेस्रो चरणको दोस्रो लेगमा मंगलबार राति रुसी क्लब एफके क्रास्नोडारसँग पराजित भएपछि पोर्टो बाहिरिएको हो ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा पोर्टो ३–२ ले पराजित भएपछि समग्रमा ३–३ को बराबरी भयो । तर अवे गोलका आधारमा पोर्टो पराजित भयो । अवे मैदानमा भएको पहिलो लेगमा पोर्टो १–० ले विजयी भएको थियो ।
मंगलबार राति भएको दोस्रो लेगमा भ्रमण टोली एफके क्रास्नोडारले पहिलो हाफमै तीन गोल गरेको हो । उसका लागि भिल्हेनाले गोल गरे भने १२ र ३४ औँ मिनेटमा सुलेयमानोभले गोल गरेका हुन् । पोर्टोका लागि मेन्डेस एनड्राडी र लुइस डियाजले गोल गरे ।
अवे गोलका कारण पछि परेर बाहिरिएको पोर्टो सन् २०१०/११ को सिजनपछि पहिलोपटक च्याम्पियन्स लिग फुटबलको समूह चरणमा स्थान बनाउन असफल भएको हो । पोर्टोले सन् २००४ मा उपाधि जितेको थियो । गएको सिजन पोर्टोले क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो ।
पोर्टो बाहिरिए पनि गएको सिजनको सेमिफाइनलिस्ट डच क्लब अजाक्सले अन्तिम चरणको प्ले–अफमा स्थान बनाएको छ । अजाक्सले पाओक सालोनिकालाई मंगलबार राति भएको दोस्रो लेगमा ३–२ ले पराजित गर्दै समग्रमा ५–४ को जित निकालेर अन्तिम चरणको प्ले–अफमा स्थान पक्का गरेको हो ।
यसैगरी दोस्रो लेगमा ३–३ को बराबरीसहित डिनामो किएभमाथि समग्रमा ४–३ को जित निकालेर क्लब बर्गले पनि प्ले–अफमा स्थान बनाएको छ ।एजेन्सी
प्रकाशित मितिः २०७६ साउन २९ बुधबार
Comments