अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि कडा प्रतिबन्ध लगाएको र थप गरिएको यो प्रतिबन्ध अमेरिकी ड्रोन खसालेको प्रतिफल रहेको बताएका छन् । इरानको सम्पूर्ण गतिविधिका लागि अन्ततः सर्वोच्च नेता खामेनी नै जिम्मेवार हुने भएकाले उनलाई निशाना बनाएर प्रतिबन्ध लगाएको अमेरिकाले बताएको छ ।
इरानका विदेश मन्त्री जावेद जारिफले अमेरिकाले थप प्रतिबन्ध लगाएर कूटनीतिक दमन गरेको बताएका छन् । यस्तै ट्रम्प प्रशासनमा युद्धको भोक रहेको देखिएको पनि जाफरीले आरोप लगाएका छन् । पछिल्लो समय अमेरिका र इरानबिचको सम्बन्धमा थप तनाव उत्पन्न भएको छ ।
इरानले गएको हप्ता अमेरिकाको एउटा गुप्तचर ड्रोनमा आक्रमण गरेर खसालेपछि दुई देशबिचको तनाव उत्कर्षमा पुगेको हो । आफ्नो हवाई सीमामा प्रवेश गरेकाले ड्रोन खसालेको इरानले बताएको छ ।
त्यसअघि गल्फ अफ ओमानमा तेलका दुई ठूला समुद्री ट्यांकरमाथि भएको आक्रमणमा इरानको संलग्नता रहेको अमेरिकाले आरोप लगाएको थियो । इरानले आरोप अस्वीकार गरे पछि साउदी अरेबियाले पनि इरानकै संलग्नता रहेको उल्लेख गरेको थियो ।
गल्फ अफ ओमानको घटना र ड्रोनमाथिको आक्रमणपछि रुष्ट भएको अमेरिकाले इरानका तीन क्षेत्रमा आक्रमणको तयारी गरेको भए पनि सर्वसाधारण मारिने सम्भावनाका कारण अन्तिम समयमा रोकिएको बतायो । उसले त्यसपछि इरानको हतियार प्रणालीलाई लक्षित गरी साइबर आक्रमण गरेको थियो । तर इरानले भने साइबर आक्रमण असफल भएको दाबी गरेको छ ।
प्रकाशित मितिः २०७६ असार १० मंगलबार
Comments