काठमाडौं । विपदका बेला गरेको उत्कृष्ट उद्धार कर्मका कारण विश्वव्यापी रुपमा चर्चित बनेको मेक्सिकन कुकुर सेवा निवृत्त भएको छ । फ्रिडा नाम गरेको पोथी कुकर ९ वर्षको सेवापछि निवृत्त भएको हो ।
मेक्सिकोमा सन् २०१७ को सेप्टेम्बरमा ३०० जनाको ज्यान जाने गरी गएको भूकम्पका बेला फ्रिडाले उत्कृष्ट रुपमा उद्धारको काम गरेको थियो ।
फ्रिडाले मेक्सिको, हाइटी, ग्वाटेमाला र इक्वेडरमा गरी ५३ वटा उद्धार अभियानमा काम गरेको जनाइएको छ । मेक्सिकोको नेवी युनिसले फ्रिडाको सम्मानमा सोमबार बिदाई कार्यक्रम गरेको छ ।
फ्रिडाले आफ्नो करिअरमा १२ जनाको ज्यान जोगाएको र ४० जना भन्दा बढीको शव पहिचान गरेको मेक्सिकन नेवीले जनाएको छ । मेक्सिकोका नेवी सम्बन्धी डेपुटी मन्त्री एडुएर्डो रेडोन्डोले भनेका छन्, ‘फ्रिडाको भुकाईले हरेक पटक आश जगाउँछ, पीडा र अनिश्चितताको समयमा उनले राहत ल्याउने गरेकी छन् ।’
सन् २०१७ को भूकम्पका बेला आँखाको सुरक्षाका लागि आइमास्क लगाएर भग्नावशेष बनेको विद्यालयका फ्रिडाले खोजी तथा उद्धारको काम गर्दै गर्दाको तस्बिरले विश्वको ध्यान तानेको थियो र त्यो मेक्सिकोका लागि आशको प्रतिकका रुपमा स्थापित भएको थियो ।
फ्रिडा अहिले १० वर्षको भएको छ । उनका सुसारेले उनको प्रख्यात मास्क र बुट फुकालिदिएका छन् र जीवनको नयाँ अध्यायका लागि खेलौना दिएका छन् ।
फ्रिडाले अवकासपछिको समय कसरी बिताउने छ भन्ने खुलाइएको छैन । तर ग्रामीण क्षेत्रमा जाने र नयाँ पुस्ताका उद्धारमा खटिने कुकुरहरुलाई तालिम दिने योजना रहेको बताइन्छ ।
प्रकाशित मितिः २०७६ असार १० मंगलबार
Comments