काठमाडौं । अमेरिकाको सही दृष्टिकोण वा मनोवृत्ति रहने भए आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो वार्ताका लागि तयार हुने उत्तर कोरियाका नेता किम जोङ–उनले बताएका छन् ।
उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले शनिबार नेता किमको भनाई सम्बन्धी खबर प्रसारण गरेको हो । वक्तव्यमा नेता किमले ट्रम्पले सम्झौताका आधारहरु पारदर्शी र आपसी रुपमा स्वीकार्य हुनु पर्ने बताएका छन् ।
दुवै देशलाई हित हुने खालको मनसायसहितको वार्ताका लागि आफू तयार रहेको किमले उल्लेख गरेका हुन् । किम र ट्रम्पबिच पहिलो पटक गएको वर्षको सिंगापुरमा भेट भएको थियो ।
त्यसपछि गएको फेब्रुअरीमा हानोइमा भएको वार्तामा परमाणु निशस्त्रीकरणको प्रक्रियाका बारेमा सहमति नजुटेपछि वार्ता टुट्यो । उत्तर कोरियाले उसमाथिको सम्पूर्ण आर्थिक प्रतिबन्ध हटाइनु पर्ने बताएको दाबी ट्रम्पले गरेका थिए ।
प्रकाशित मितिः२०७५ चैत ३० शनिबार
Comments