काठमाडौं । मालीमा बन्दुकधारीको आक्रमणमा १०० भन्दा बढि गाउँलेको ज्यान गएको छ । मालीको मध्य क्षेत्रको ग्रामीण क्षेत्रमा परम्परागत डोगोन शिकारीको पोशाकमा रहेका सशस्त्र आक्रमणकारीले गाउँलेमाथि अन्धाधुन्ध गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बन्दुकधारीले गाउँलाई घेराबन्दी गरेर मालीको मोप्ती क्षेत्रमा रहेको ओगोस्सागोउ गाउँका मानिसको हत्या गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । शनिबार भएको घटनामा फुलानी जनजाति समुदायका मानिसको ज्यान गएको हो । मालीमा जनजाति तथा बिद्रोही गतिविधि बढ्दै गएका छन् । यो समस्या समाधानको उपाय खोज्नका लागि संयुक्त राष्ट्रसंघीय दूतहरु अहिले मालीमा छन् ।
बन्दुकधारीले गोली तथा सानो आकारको तरबारले आक्रमण गरि गाउँलेको हत्या गरेको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । जमिन र पानीका स्रोतमा स्वामित्वको विषयलाई लिएर फुलानी सुमदाय र डोगोन शिकारी समुदायबिच विवाद रहँदै आएको छ । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत १० आइतबार
Comments