काठमाडौं । प्रदर्शनकारीकै समूहले ज्यान मार्ने धम्की दिएपछि फ्रान्समा आन्दोलनरत समूह वार्ताबाट पछि हटेको छ । पेट्रोलियम पदार्थमा कर बढाइएको विषयमा नोभेम्बरदेखि नै आन्दोलनरत समूह आज तय भएको वार्ताबाट पछि हटेको हो ।
केहीदिनदेखि आन्दोलन हिंसात्मक हुँदा ३ जनाको मृत्यु भइसकेको छ भने तोडफोडका घटना पनि भएका छन् । फ्रान्सको गृहमन्त्रालयका अनुसार आइतबार भएको प्रदर्शनमा करिब १ लाख ३६ हजारले भाग लिएका थिए । सोमबार पनि प्रदर्शनकारीहरुले मार्से शहरनजिकै एक बन्दरगाहको प्रमुख इन्धन डिपो अवरुद्ध गरे ।
यस्तै, सोमबार नै फ्रान्सभरका करिब १ सय विद्यालयका विद्यार्थीहरुले शैक्षिक तथा परीक्षामा हुने पुनर्संरचनाविरुद्ध प्रदर्शन गरे भने निजी एम्बुलेन्सका चालकरुले सामाजिक सुरक्षा र हेल्थकेयर सुधारका केही विषयलाई लिएर प्रदर्शन गरे ।
फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपले आन्दोलनकारीलाई वार्ताका लागि आह्वान पनि गरेका छन् । राष्ट्रपति इम्यानुयल म्याक्रोंले पेरिसमा भइरहेको आन्दोलन गलत भएको बताए पछि सामाजिक सञ्जालमा समेत सरकारविरोधी आन्दोलन तिब्र बन्दै गएको छ । फ्रान्समा डीजेल सबैभन्दा प्रमुख इन्धन स्रोत हो । पछिल्लो १ बर्षमा डीजलको मूल्य २३ प्रतिशतले बढेको छ । यसैगरी वर्तमान सरकारले डीजलमाथि ७.६ प्रतिशत हाइड्रोकार्बन कर पनि लगाएको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ मंसिर १८ मंगलबार
Comments