काठमाडौं । अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्टेन लीको ९५ वर्षको उमेरमा मृत्यु भएको छ ।
लस एन्जलसस्थित सिडर साइनाइ मेडिकल सेन्टरमा उपचारका क्रममा लीको मृत्यु पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
सन् १९२२ मा जन्मेका ली पछिल्ला केही वर्षयता निमोनियालगायतका रोगबाट पीडित थिए ।
उनले सन् १९६१ मा दी फन्ट्यास्टिक फोर बाट कमिक लेख्न सुरु गरेका थिए । उनले रचना गरेका यी कमिक र सुपर हिरोमा आधारीत चलचित्रले विश्वभर नै चर्चा पाएको छ । लीद्वारा लिखित दी इन्क्रेडिबल हल्क र स्पाइडरम्यान शीर्षकको कमिक पनि उत्तिकै रुचाइएको थियो ।
लीको पाव इन्टरटेन्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृतले उनलाई पप संस्कृतिको पिता भन्दै पात्रहरुको ब्रह्माण्ड सर्जक भनेका छन् ।
रोमानियाबाट बसाइँसराइ गरेर अमेरिका पुगेको कामकाजी परिवारमा जन्मिएका ली १८ वर्षको उमेरमा नै कमिक्सका सम्पादक भएका थिए । उनले जीवनको लामो कालखण्ड पश्चिमा युवालक्षित कथाहरुमा आधारित कमिक लेखेर बिताएका थिए ।
प्रकाशित मितिः २०७५ कार्तिक २७ मंगलबार
Comments