काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई बर्खास्त गरेका छन् । उनले यसको जानकारी बुधवार ट्वीटरमार्फत दिएका छन् । सेसन्सलाई हटाएर ट्रम्पले तत्कालका लागि आफ्नो प्रमुख स्वकीय सचिव म्याथ्यू ह्वीटेकरलाई अस्थायी जिम्मेवारी दिएका छन् ।
ह्वाइट हाउसलाई चिन्तित बनाएको अमेरिकी चुनावमा रुसको हस्तक्षेपसम्बन्धी अनुसन्धान प्रक्रियाबाट आफूलाई अलग्ग्याएपपछि कानून कार्यान्वयन गराउने उच्च अधिकारी सेसन्सको ट्रम्पले पटक–पटक आलोचना गर्दै आएका थिए ।
यसअघि सेसन्सले राष्ट्रपति ट्रम्पको आग्रहमा राजीनामा दिन लागेको बताएका थिए । ट्रम्पले ट्वीटरमार्फत् जेफ सेसन्सलाई सेवा गरेकोमा धन्यवाद दिएका छन् । सेसन्सले पनि राष्ट्रपति ट्रम्पप्रति आभार व्यक्त गरेका छन् ।
सेसन्सले गत वर्ष अमेरिकी चुनावमा रुसको हस्तक्षेपबारे अनुसन्धानको लागि आफैं पदबाट अलग भएको घोषणा गरेका थिए । विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूले महान्यायाधिवक्तालाई बर्खास्त गर्ने कदमप्रति आपत्ति जनाएका छन् ।
प्रकाशित मितिः २०७५ कार्तिक २२ बिहिबार
Comments