काठमाडौं । माल्दिभ्सका विपक्षी नेता इब्राहिम मोहमद सोलेले हिन्द महासागरको रणनीतिक रूपमा महत्त्वपूर्ण सो टापु देशको राष्ट्रपतिय निर्वाचनमा आफू विजयी भएको बताएका छन् । राजधानी मालेका सडकमा मुसलधारे पानीको बेवास्ता गरी उर्लेका उनका समर्थकहरूले राष्ट्रपति अब्दुल्लाह यामीनले सत्ता छोड्न पर्ने बताएका छन् ।
प्रारम्भिक परिणामअनुसार इब्राहिमको पक्षमा ५८ प्रतिशत मत खसेको बताइएको छ । उनले शान्तिपूर्ण सत्ता हस्तान्तरणका निम्ति राष्ट्रपति यामीनलाई आग्रह गरेका छन् । सोले भारतसँग नजिक ठानिन्छन् । हिन्द महासागरको यो टापु राष्ट्र चीन र भारतबीच प्रतिस्पर्धाको क्षेत्र बनेको थियो । तर पछिल्ला वर्षहरूमा राष्ट्रपति यामीनको पूर्वाधार विकासका योजनालाई चीनले निकै सघाएको छ ।
४७२ मध्ये ४३७ मत पेटिकाको मत गणना भइसक्दा सोले राष्ट्रपति यामीनभन्दा निकै अगाडि देखिएको संचार माध्यमहरूले जनाएका छन् । माल्दिभ्सको निर्वाचन आयोगले निर्वाचन सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भएको जनाएको छ । हालसम्म कुनै नतिजा सार्वजनिक नगरेको सो आयोगले ७ दिनभित्र अन्तिम मत परिणाम घोषणा गर्ने जनाएको छ ।
चीन निकट ठानिएका राष्ट्रपति यामीनको पक्षमा निर्वाचनको परिणाम निस्किएला भन्ने धेरैको विश्वास थियो । यामीनमाथि विपक्षीका आवाज दमन गरेको आरोप लाग्ने गरेको छ । सो चुनावलाई क्षेत्रीय शक्ति राष्ट्रहरू भारत र चीनले नजिकबाट नियालिरहेका थिए । बीबीसी
प्रकाशित मितिः २०७५ असोज ८ सोमबार
Comments