काठमाडौं । इरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडमाथि आक्रमण हुँदा २५ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार परेडको अवलोकन गरिरहेका सर्वसाधारण र परेडमा संलग्न सैनिकहरूमाथि भएको सो हमलामा चार वर्षिया एक बालिकासहित २५ जनाको मृत्यु भएको हो ।
चार जना आक्रमणकारी सुरक्षा कारबाहीमा मारिएका थिए । आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएका छन् । मारिनेमा आधा भन्दा बढी इरानको रिभोल्यूशनरी गार्डसका सदस्य छन् । मारिएका अन्य सर्वसाधारण सैन्य परेड हेर्न गएका थिए ।
इरानको समाचार एजेन्सी फार्सका अनुसार आक्रमण स्थानीय समयअनुसार बिहान ९ बजे भएको थियो र करिब १० मिनेटसम्म गोली चलेको थियो । आक्रमणकारीले रिभोलुस्नरी गार्डका सेना र अधिकारीमाथि लक्षित गरी गोली प्रहार गरेको हुन सक्ने ठानिएको छ ।
मञ्चमा आसिन सैन्य अधिकारीहरुलाई निशाना बनाउने कोसिस गरेका थिए । हतियारधारी समूहले परेडका लागि बनाइएको मञ्च नजिकैको पार्कबाट गोली चलाएका थिए ।
यो सैन्य परेड इरान–इराक युद्धको शुरुआतको ३० औं वर्षगाँठको सम्झनामा आयोजना गरिएको थियो । इरानका विदेशमन्त्री जवाद जारिफले पनि हमलाकारीहरूलाई विदेशी शक्तिले सहयोग गरेको दोष लगाएका थिए ।
इरान सरकारले नेदर्ल्याण्डस् डेनमार्क र ब्रिटेनका राजदूतहरूलाई बोलाउँदै उनीहरूका देशहरूले इरानी विपक्षी समूहहरूलाई समर्थन गरेको आरोप लगाएको छ । एक स्थानीय अरबी पृथकतावादी समूह अल अभाजियमले हमलाको जिम्मेवारी लिएको छ ।
काशित मितिः २०७५ असोज ७ आइतबार
Comments