काठमाडौं। मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकलाई थप २५ विषयमा अनियमिततासम्बन्धी आरोप लगाइएको छ । राज्यको एउटा ठूलो लगानी कोषको दुरुपयोग गरेको, आर्थिक अपचलन गरेको र पद तथा शक्तिको दुरुपयोग गरेकोलगायतका आरोपहरू उनलाई लगाइएको हो ।
सयौँ लाख डलर उनको बैंक खाताबाट लेनदेन गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । नजिबका समर्थकहरूले क्वालालम्पुर अदालत अगाडी नजिबको पक्षमा प्रदर्शन गरेका थिए । उनलाई लगाइएका आरोपहरूमध्ये केही आरोप गम्भीर प्रकृतिका भएको बताइएको छ ।
यिनै आरोपलाई निर्वाचनका समय प्रचार गरिएका कारण गत मे महिनामा भएको संसदीय चुनावमा पनि नजिब पराजित भएका थिए । उनलाई पूर्व प्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको गठबन्धनले पराजित गरेको हो । विगतमा नाजिवकै संरक्षक रहनु भएका ९३ वर्षीय महाथिरले नाजिबले मुलुकलाई सही दिशातिर लैजान नसकेको भन्दै आफु फेरी राजनीतिमा फर्किनु परेको चुनावी नारा बताएका थिए।
आरोपहरू लगाइएपछि बिहीबार उहाँले अदालत बाहिर आयोजित पत्रकार सम्मेलन मार्फत् आफू दोषी नरहेको दावी गरे । उनले भने, “मलाई विश्वास छ की मैले सफाई पाउनेछु, कानूनको शासन अनुसार कामहरू हुनेछन् ।” पूर्व प्रधानमन्त्री नजिबले आफू सत्यको पक्षमा लडिरहने र भगवानले सत्यलाई जिताउने विश्वास पनि व्यक्त गरे ।
उनलाई राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा बुधबार पक्राउ गरिएको थियो । नजिब र उनका सहकर्मीहरूले राज्य कोषको दुरुपयोग गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो ।
प्रकाशित मितिः २०७५ असोज ५ शुक्रबार
Comments