काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्रीसहित तीन जनालाई जेलमुक्त गर्न अदालतले आदेश दिएको छ । पूर्वप्रधानमन्त्री नवाज सरिफ, उनकी छोरी मार्याम र ज्वाई क्याप्टेन सफ्दरलाई बुधबार इस्लामावाद उच्च अदालतले रिहा गर्न आदेश दिएको हो ।
भ्रष्टाचारसम्बन्धी मुद्दा लागेका उनीहरुलाई अदालतको अन्तिम टुङ्गो नलाग्दासम्म रिहा गर्न आदेश दिएको सरिफका वकिल खवाज हरिशले जानकारी दिए । अदालतले निर्णय सुनाउँदै गर्दा अदालत बाहिर उहाँका समर्थकहरुले सरीफको पक्षमा खुशीयालीसहित चर्को नाराबाजी गरेका थिए । उनलाई गत जुलाईमा स्वदेश फर्किनेबित्तिकै पक्राउ गरिएको थियो । निर्वाचनको पूर्वसन्ध्यामा बेलायतबाट स्वदेश फर्किएका थिए । सरीफले जेलसजाय काट्न शुरू गरेको दुई महिनापछि अदालतले रिहा गर्न लगाएको हो ।
भ्रष्टाचार विरुद्धको एउटा अदालतले पानामा पेपर प्रकरणमा दोषी ठहर गरी नवाजलाई १० वर्ष र मार्यमलाई सात वर्षको जेल सजाय सुनाएको थियो । त्यसैगरी मुद्दामा नसघाएको भन्दै सरिफका ज्वाइँ सफ्दरलाई एक वर्ष जेल सजाय सुनाइएको थियो । उनीहरूलार्इ यसअघि सुनाइएको फैसलालाई निलम्बन गरिएको छ । पुनरावलोकनलाई लागि उनीहरूले दिए निवेदनमाथि सुनुवाइका क्रममा अदालतले पछिल्लो आदेश दिएको हो । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज ४ बिहिबार
Comments