६ जेठ । बेलायतका राजकुमार ह्यारी हिजो अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिएका छन् । राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करीब ६ सय विशिष्ट पाहुना सहभागी भए भने वैवाहिक समारोह भएको दरबार बाहिर हजारौँ दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुशी साटासाट गरेका थिए । उनिहरूको विवाहलाई टेलिभिजनमार्फत गरिएको प्रत्यक्ष प्रसारणलाई विश्वभर विशेष उत्लासकासाथ अवलोकन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विवाह समारोहमा ३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कलले एकापसमा सँगै जिउने वाचा गर्दै औँठी साटासाट गरेपछि परम्पराअनुसार केनटनबरीका आर्कसिशप जस्टिन वेल्बीले उनिहरू श्रीमान् र श्रीमती भएको घोषणा गरेका थिए । यसलाई एउटा ऐतिहासिक घटनाको रूपमा लिइएको छ । मार्कल आफ्नी आमासहित रोल्सरोयस गाडीमा विवाहस्थल पुगेकि थिईन् भने सेन्ट जोर्जेज च्यापलमा पुगेसँगै ह्यारीका पिता युवराज चाल्र्सले मार्कलको हातमा समाएर वैवाहिक समारोहमा लगेका थिए ।
यसैगरी ह्यारी विवाह समारोहस्थलमा आफ्ना दाजु विलियमसँगै पुगेका थिए । मेगनको परिवारतर्फबाट उनकी आमा डोरिया मात्र उपस्थित भएकी थिइन् । (एजेन्सी)
राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न
0
Share.
Comments