काठमाडौं । अमेरिकाको जलसेनाले हिन्द महासागरमा विनाशक क्षेप्यास्त्रहरू जडान गरिएको आणविक पनडुब्बी तैनाथ गरिएको घोषणा गरेको छ । यूएसएस वेस्ट भर्जिनिया नामक पनडुब्बी भारतीय भूमिबाट नजिकै रहेको डियागो गार्सियामा तैनाथ छ । हिन्द महासागरमा रहेको उक्त टापुमा अमेरिकी सैन्य अड्डा छ ।
अमेरिकासँग यस किसिमका चारवटा पनडुब्बी छन् र ती सबैमा क्षेप्यास्त्र जडान गरिएको छ । सामान्यतया पनडुब्बी तैनाथ गरिएको कुरालाई गोप्य राखिन्छ तर खुलेआम घोषणा गरेर अमेरिकाले चीन, उत्तर कोरिया र रुसलाई कडा सन्देश दिएको बताइएको छ ।
ओहायो क्लासका यी पनडुब्बीहरूमा ट्राइडेन्ट–२ क्षेप्यास्त्र जडान गरिएका छन् । यिनमा भएको एमआईआरभी प्रविधि छ । त्यसले एउटै क्षेप्यास्त्रबाट पनि अनेकौं तारोलाई नष्ट गर्न सक्छ ।
यस क्षेप्यास्त्रले एकैपटकमा १४ वटा आणविक बम बोक्न सक्छ । केही क्षेप्यास्त्रमा डब्ल्यू७६–२ नामक आणविक बम पनि राखिएको छ । ओहायो पनडुब्बीलाई अमेरिकाको सबभन्दा घातक हतियार मानिन्छ । एजेन्सी
प्रकाशित मितिः २०७९ मंसिर १३ मंगलबार
Comments