काठमाडौं । अफगानिस्तानको काबुलस्थित एक बालिका माध्यमिक विद्यालयबाहिर भएका तीन वटा बिस्फोटमा परी मृत्यु हुनेको संख्या ५० पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शैयद उल सौहादा माध्यमिक विद्यालयबाहिर शनिबार अपराह्न ४ बजे भएको उक्त बिस्फोटमा अरु १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
काबुल प्रहरीका प्रवक्ता फरदौस फरामर्जले एउटा बिस्फोटको प्रारम्भिक अवस्था हेर्दा कार बम बिस्फोटजस्तो देखिएको बताए ।
अन्य दुई वटा बिस्फोटन भने बारुदी सुरुङबाट भएको प्रवक्ता फरदौसले बताए ।
विद्यार्थीहरू विद्यालय छुट्टी भएर आआफ्ना घरतिर जानै लाग्दा बिस्फोट भएको छ । अधिकांश पीडितहरू विद्यालयका केटाकेटी रहेको अनुमान गरिएको छ । बाटो हिँड्ने व्यक्तिहरूको पनि मृत्यु वा घाइते भएका प्रहरीको भनाइ छ । एजेन्सी
प्रकाशित मितिः २०७८ बैशाख २६ आइतबार
Comments