काठमाडौँ । झन्डै दुइ साता भेट नगरेका प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्प कमल दाहाल बीच भेट भएको छ ।
ओलीलाई भेट्न आज बालुवाटार गएका प्रचण्डले पार्टी भित्रको आन्तरिक विवाद सचिवालय बैठकबाट टुग्याउन माग गरेका छन् ।
दाहालले बालुवाटार छलफलमा पार्टीका समस्याहरु तत्काल सचिवालय बैठक बोलाएर सचिवालय बैठकबाटै हल गर्नुपर्ने माग गरेको दाहाल निकट स्रोतले जनाएको छ ।
आज दुई अध्यक्षबीच पार्टी सञ्चालनसहितका समसामयिक विषयवस्तु छलफल भएको छ । छलफलका क्रममा कोभिड महामारीको नियन्त्रण तथा रोकथाम र सरकारको भूमिका, कर्णाली विवाद प्रकरण, रअ प्रमुख सामान्तकुमार गोयलसँगको भेट र पर्साको मुकेश चौरसिया घटना प्रकरणका विषयमा छलफल भएको छ ।
यी सबै विषयलाई सचिवालय बैठकमा छलफल गर्ने प्रचण्डको प्रस्ताव आएको र चाँडै सचिवालय बैठक बोलाउन ओली सकारात्मक भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । उनले आवश्यकता अनुसार सचिवालय बैठक बोलाउन अध्यक्ष ओली सकारात्मक रहेको बताए ।
प्रकाशित मितिः २०७७ कार्तिक १५ शनिबार
Comments