भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजाललाई सम्बद्ध मन्त्रालयमा फिर्ता गर्न पत्राचार गरेका छन् ।
नगर प्रमुख श्रेष्ठले सम्पदा पुनःनिर्माणलगायत उपभोक्ता समितिमार्फत भएका कामको भुक्तानी नदिई दुःख दिएको, आन्तरिक राजनीतिक गतिविधिमा सहभागी भएको र अनुचित आर्थिक लाभमा सहभागी भई नगरपालिकाका काममा असहयोग गरेको आरोप रिजाललाई लगाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता गर्न बिहीबार पत्र लेखिएको जानकारी दिए ।
कोभिड–१९ को महामारीमा महिनामा एक दिन कार्यालय आउने र अरु दिन नगरपालिकाका कागजात घरमै लगेर कर्मचारीलाई घरमा धाउन बाध्य पारेको र दशैँ अगाडि उपभोक्ता समितिलाई भुक्तानी नदिन प्रयास गरेको उनको आरोप छ ।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना प्रतिकार्यका लागि रु एक करोड निकासा गर्ने निर्णयविरुद्ध भूमिका खेलेको, समयमै रकम नदिई कोरोना संक्रमित नगरवासीको उपचारमा सहयोग नगरेको र कार्यपालिका बैठक बस्नै नदिन भूमिका निर्वाह गरेको आरोप पनि रिजालमाथि थपिएको छ ।
बोडे लायकु दरबार निर्माण उपभोक्ता समितिका अध्यक्ष भरत द्यो श्रेष्ठले प्रमुख प्रशासकिय अधिकृत रिजालले दशैं अघि पेश्की दिने भनेपनि हालसम्म उपलब्ध नभएपछि आफूलाई मर्का परेको गुनासो गरे । उनले कामदारलाई आफूले ऋण लिएर पैसा दिएर घर पठाएको पनि बताएका छन् ।
प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार
Comments