काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार (आज) पनि सहमति जुट्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा ओली–प्रचण्डबीच बिहान ११ बजेदेखि सवा ३ घण्टा छलफल चलेको थियो । सवा दुई बजेसम्म चलेको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनबारे कुराकानी भए पनि निष्कर्ष निस्किइ नसकेको प्रचण्ड स्रोतले जानकारी दियो । बालुवाटार स्रोतले दुई अध्यक्ष निष्कर्षमा पुग्न नसकेको बताउँछ ।
‘उहाँहरूबीच पछिल्लो दुई दिन मन्त्रिपरिषद् पुनर्गठनको विषयमै केन्द्रित भएर छलफल भइरहेको छ’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषद् पुनर्गठन गर्दा कुन विधि, प्रक्रियाबाट गर्ने, मापदण्ड के–के बनाउने भन्ने विषयमा सहमति जुटिसकेको छैन।’
प्रधानमन्त्री ओली केही मन्त्री हटाउने, केही नयाँ थप्ने गरी मन्त्रिपरिषद् बैठक तत्काल पुनर्गठन गर्नुपर्ने पक्षमा रहेको स्रोतको भनाइ छ। तर, प्रचण्डले उपाध्यक्ष वामदेव गौतमलाई पनि मन्त्रिपरिषद् बैठकमा सहभागी गराउनुपर्ने मत राख्दै आएका छन्। उपाध्यक्ष गौतमविरुद्ध परेको रिटको पेसी १४ गतेलाई तोकिएकाले तत्काल मन्त्री परिषद् पुनर्गठन नहुने देखिन्छ।
१४ गते फैसला आउने सम्भावना रहेकाले अहिले नै मन्त्रिपरिषद् पुनर्गठन गर्न हतारिन नहुने प्रचण्डको मत रहेको स्रोतको भनाइ छ। यस विषयमा प्रचण्डलाई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पनि साथ दिएका छन्।
प्रकाशित मितिः २०७७ असोज १२ सोमबार
Comments