काठमाडौं । नेकपा प्रचार विभाग प्रमुख एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमान घिसिङको पक्ष लिँदा पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले आपत्ति जनाएका छन्।
आइतबार नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रुपमा चार वर्षे कार्यकाल पूरा गरेर बिदाइ भएका घिसिङलाई पुन नियुक्ति दिनुपर्छ भनेर श्रेष्ठले सामाजिक सञ्जालमार्फत लविङ गरेपछि थापाले सामाजिक सञ्जालबाटै त्यसप्रति आपत्ति जनाएका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार समेत रहेका थापाले प्रवक्ताको लविङ ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेर व्यंग्य गरेका छन्। उनले औपचारिक निर्णय सार्वजनिक गर्ने व्यक्ति नै कसैको लविङमा लागेको भन्दै विरोध जनाएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङरु पार्टीको हाल जिम्मेवारी यही हो र ? सबै नेताहरूले आफ्नो निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र ?
प्रकाशित मितिः २०७७ भदौ ३० मंगलबार
Comments