काठमाडौं । प्रतिनिधि सभाको सभामुखको उम्मेदवार छान्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफल सकिएको छ।
दुई अध्यक्षबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बिहान झन्डै २ घन्टा बढी एक्लाएक्लै भेट भएको थियो। उनीहरूको भेट सकिएपछि नेकपाले सचिवालय बैठक डाकेको छ। बालुवाटार स्रोतका अनुसार साँझ ४ बजेका लागि सचिवालय बैठक डाकिएको हो।
दुई अध्यक्षबीच पछिल्ला दिन भएका छलफलहरु सकारात्मक हुँदै गएको दुई अध्यक्ष निकट नेताहरुको दाबी छ। यसअघि सभामुख चयनमा सहमति हुन नसक्दा ४ पटकसम्म संसद बैठक सूचना टाँसेर स्थगित भइसकेको छ। पुस ४ गते संसदको हिउँदे अधिवेशन सुरू भए पनि सभामुख चयनमा सहमति हुन नसक्दा संसद अवरूद्ध हुँदै आएको छ।
प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई बनाउन चाहेका छन्। उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि सभामुखमा दाबी गर्दै आइरहेकी छन्।
एक साताअगाडि नेकपा सचिवालय बैठकले उपसभामुखलाई राजीनामा दिन भने पनि सभामुमखको उम्मेदवार तय नहुँदासम्म राजीनामा नदिने अडान उनले राखेकी छन्। संसदको बैठक माघ ६ गतेका लागि बोलाइएको छ।
प्रकाशित मितिः २०७६ माघ ०५ आइतबार
Comments