काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकीय भ्रमणका लागि बुधबार म्यानमार जाँदै छिन् । म्यानमारका राष्ट्रपति यु विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्ने त्यसतर्फ जान लागेकी हुन् ।
पाँच दिने चीन भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्टसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।त्यस्तै, म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकीले राष्ट्रपति भण्डारीसँग भेटघाट गर्नेछिन् । भण्डारीले म्यानमारमा रहेका नेपाली मूलका नागरिकहरुसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपतिसहित नेपाली प्रतिनिधिमण्डलको सम्मानमा म्यानमारका राष्ट्रपतिले स्वागत समारोहसहित रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असोज २८ मंगलबार
Comments