भक्तपुर । नेपाली कांग्रेस केन्द्रीय कार्य समिति अन्तर्गत आर्थिक नीति मस्यौदा समितिले प्रदेश नम्बर ३ अन्तर्गतका पार्टी सभापति र प्रदेश सांसदसँग पार्टीको समग्र आर्थिक नीति निर्माणका लागि सुझाव संकलन कार्यक्रम आयोजना गरेको छ ।
आज भक्तपुरमा कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले उत्पादनमुखी आर्थिक नीति बन्नुपर्नेमा जोड दिंदै सरकारले समग्र राष्ट्रिय हितलाई महत्व नदिई पार्टीमुखी आर्थिक नीतिलाई मात्र जोड दिएको बताए ।
आर्थिक उद्यमशीलता र लगानीमैत्री वातावरण सृजना गरी लगानी र आर्थिक गतिविधि बढाउने गरी आर्थिक नीति निर्माण गर्नुपर्ने उनले बताए ।
आज दिनभर संचालन हुने कार्यक्रममा प्रदेश नम्बर ३ अन्तर्गतका सबै जिल्लाका पार्टी सभापति र प्रदेश सांसद गरी ४० जनाको सहभागिता रहेको र उनीहरुले पार्टीले बनाउन थालेको आर्थिक नीति निर्माणका लागि महत्वपूर्ण सुझाव दिने भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरे, जीवन बहादुर शाही, शिवप्रसाद हुमागाईं, अर्जुन जोशी, ३ नं.प्रदेश सभाका प्रतिपक्षी दलका नेता ईन्द्र बाँनियाँ, डा. अच्युत वाग्ले, काठमाडौं जिल्ला सभापति सबुज बाँनिया लगायतले अब बन्ने कांग्रेसको आर्थिक नीति परम्परागत भन्दा पनि परिणाममुखी र आत्मनिर्भर हुनुपर्नेमा जोड दिए ।
प्रकाशित मितिः २०७५ कार्तिक २५ आइतबार
Comments