काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगबाट हुने कर्मचारी भर्ना नरोकिएको स्पस्ट पारेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले आयोगबाट भर्ना रोकिदैछ भन्ने हल्लामात्रै भएको बताए ।
आयोगलाई संविधानले दिएको जिम्मेवारी र क्षेत्राधिकार नमिच्ने भन्दै उनले कर्मचारी भर्ना रोकिने भनी हल्ला चलेको भन्दै त्यो सत्य नभएको बताए । सबै निकायलाई आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्ने स्वतन्त्रता रहेको भन्दै उनले लोकसेवा आयोगको क्षेत्राधिकार सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारे ।
स्थानीय सरकार, प्रदेश सरकारका प्रतिनिधि संविधानले दिएको अधिकार विपरीत विदेश भ्रमणमा गइरहेको मन्त्री पण्डितले बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले तीन तहका सरकारबीच समन्वय गर्न नयाँ कानुन बनिरहेको बताए ।
उनले सबै तहका कर्मचारीको वृत्ति विकास हुने गरी कर्मचारी समायोजन गर्ने भन्दै सचिव थपलियाले एक हप्ताभित्र कर्मचारी समायोजनमा केही प्रगति हुने जानकारी गराए ।
प्रकाशित मितिः २०७५ भदौ १ शुक्रबार
Comments