चितवन, ५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागि नसकेको बताएका छन् ।
प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताए ।
दुई पार्टीका बीचमा कुरो नमिलेको भन्ने विषय नरहेको तर छलफल हुन बाँकी रहेको उनले प्रष्ट्याए । प्रधानमन्त्री केपी शर्मा ओली र आफू आज कार्यक्रममा व्यस्त हुने भन्दै उनले भोली दुई अध्यक्षका बीचमा बैठकपछि पार्टी एकता घोषणाको मिति तय हुने बताए ।
उनले भने, “वैशाख ९ गते अल्ली भ्याइँदैन कि, कोसिस गर्दैछौं ।” त्यसो हुँदै गर्दा पनि वैशाख महिनाभर भने नलाग्ने उनको भनाइ छ । यकिन मिति दुई अध्यक्षले टुंग्याउने भए पनि पार्टी एकताका लागि धेरै दिन कुर्न नपर्ने उनले बताए ।
दुईवटा कार्यदलले प्रस्तुत गरेका प्रतिवेदनमाथि हिजोबाट गम्भीर ढंगले छलफल शुरु भएको भन्दै उनले कतिपय विषयमा कार्यदलले टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिएको बताए ।
उनले भने, “कतिपय भाषा परिमार्जन गर्नुपर्ने, कतिपय विषयमा कार्यदलले रिपोर्ट बुझाउँदैमा यो विषयमाथि टुुंग्याउने भन्दै आफ्नो तहबाट अध्यक्षको तहमा ल्याएका छन् । त्यस्ता विषय छलफल गरेर टुंग्याउने भनिएको छ ।”
प्रधानमन्त्रीका कार्यशैलीका विषयमा छलफल भएको स्वीकार्दै उनले अधिकार प्रधानमन्त्रीलाई भए पनि सचिव सरुवालगायतका विषयमा विधि प्रक्रियामा समन्वय नभएको हो कि भनेर आफूले छलफल गरेको बताए ।
चुनाव चिन्हको विषय टुंगिएको छैन : प्रचण्ड
0
Share.
Comments