काठमाडौं ५ चैत । रेशम चौधरीलाई ‘जेलभित्रै प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी गरेको छ । सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ। राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय स्रोतले बतायो। राजपा नेताहरूले चौधरीको मुद्दा फिर्ता लिन गरेको माग अस्वीकार गर्दै अदालतले गर्ने अन्तिम निर्णय नै पर्खने गरी तत्कालका लागि भने प्रमाणपत्र र शपथको वातावरण मिलाउन तयार भएको हो।
शपथको वातावरण मिलाउन नै चौधरीलाई कैलाली कारागारबाट काठमाडौं ल्याइएको छ। ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनरत थरुहट कार्यकर्ता र प्रहरीबीच झडपमा एसएसपीसहित सात सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो। चौधरीमाथि त्यसैको ज्यान मुद्दा लागेको छ। राजपाले प्रधानमन्त्री केपी ओली सरकारलाई समर्थन गर्नेदेखि सरकारमा सहभागी हुने सर्तमा चौधरीको मुद्दा फिर्तीको विषयलाई प्रमुख एजेन्डा बनाएको थियो। यो विषयमा प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरबीच शपथ कसरी गराउने भन्नेमा पटक पटक छलफल भएको राजपा नेता केशव झाले पनि पुष्टि गरे।
आफूले शपथ खान पाउनुपर्ने माग गर्दै कारागारभित्रै आमरण अनशन बसेपछि चौधरीलाई फागुन २६ मा काठमाडौं ल्याई वीर अस्पताल भर्ना गरिएको थियो।
Comments