काठमाडौ, ३० फागुन । विद्या भण्डारी दोस्रो कार्याकालका लागि पुनः राष्ट्रपतिमा निर्वाचित भएकी छन्। सत्तारुढ दल नेकपा एमालेका तर्फबाट राष्ट्रपतिमा उम्मेद्वारी दिएकी भण्डारीले मंगलबार भएको राष्ट्रपति निर्वाचनमा ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेर विजयी भएकी हुन् ।
भण्डारीकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेद्वार कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरेकी छिन् । मंगलबार बिहान बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म चलेको निर्वाचनमा कुल ८ सय ८० मत मध्ये ८ सय ६२ मत खसेको थियो। संघीय संसद तथा प्रदेशसभा सांसदले मतदान गर्न पाउने निर्वाचनमा एक जना संघीय सांदको मतभार ७९ र प्रदेशसभा सांसदको मतभार ४८ तोकिएको थियो ।
राष्ट्रपति भण्डारी स्वर्गीय नेता मदन भण्डारीकी धर्मपत्नी हुन्। नेकपा एमालेमा सकृय राजनीति गरेकी भण्डारीले नेपाल सरकारको जनसंख्या तथा वातावरण र रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेकी छिन् । उनलाई विश्व प्रसिद्ध पत्रीका फोर्ब्सले बर्ष २०१६का शक्तिशाली महिलाहरु मध्ये ५२औं स्थानमा सूचिकृत गरेको थियो ।
भोजपुर क्याम्पसमा आइ।ए।अध्ययनसँगै २०३५ देखि नेकपा मालेको युवा लिगमा संगठित हुदै सक्रिय राजनीतिमा लागेकी भण्डारी २०५४ सालमा नेपालगन्जमा भएको एमालेको छैटौं महाधिवेशनदेखि एमालेको केन्द्रीय कमिटीमा निर्वाचित भएकी थिइन ।
करिब २ दशकदेखि उनी पार्टीको भ्रातृ संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष समेत थिइन । २०६५ सालमा बुटवलमा भएको आठौं र काठमाडौंमा भएको नवौं महाधिवेशनबाट भण्डारी एमालेको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । ।
Comments