काठमाडौं, २९ फागुन । नयाँ राष्ट्रपतिको निर्वाचन आज हुँदै छ । तेस्रो राष्ट्रपतिका लागि वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेसबाट उम्मेदवारी दिएकी कुमारी लक्ष्मी राईबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । निर्वाचन आयोगले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बिहान १० बजेबाट संसद् भवन नयाँ बानेश्वरमा सुरु हुने निर्वाचन दिउँसो ३ बजे सकिनेछ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार एउटा मतदान केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसद तथा अर्को मतदान केन्द्रमा प्रदेश सभाका सांसदहरूले मतदान गर्नेछन् ।
भण्डारीको जित निश्चित, १३ हजारभन्दा बढी मत
संघीय संसद्–प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३० र प्रदेश सभाका ५५० सांसद राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता हुन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी कानुनअनुसार संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहेको छ । कुल मतदाता संख्या ८८० भएकाले जम्मा मतभार ५२ हजार पाँच सय रहेको छ । कैलालीबाट निर्वाचित सांसद रेशमलाल चौधरीका साथै पछि शपथ लिएका राष्ट्रिय सभाका तीन सांसदले भने मतदानमा भाग लिन पाउने छैनन् ।
एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपाका ६६६ सांसदको समर्थन वर्तमान राष्ट्रपति भण्डारीको पक्षमा रहेकाले उनको पक्षमा मत ३९ हजार ७०९ देखिएको छ । संविधानअनुसार विजय हुन कम्तीमा ५० प्रतिशत कटाउनुपर्ने भएकाले २६ हजार ३४४ मत आवश्यक पर्छ । त्यसैले, यो आवश्यकभन्दा १० हजार २० मत बढी रहेकाले उनको विजय निश्चितजस्तै देखिन्छ ।
उता, कांग्रेस उम्मेदवार लक्ष्मी राईका पक्षमा कांग्रेसका १८९ सांसदको समर्थन रहेकाले उनको पक्षमा ११ हजार ४२८ मत रहेको छ । बाँकी मत भने १० ओटा साना दलको रहेको छ । उनीहरूको मत एक हजार ६४९ छ । यो मत जता खसे पनि जित–हारका लागि खास अर्थ राख्नेछैन ।
Comments