काठमाडौं, १३ फागुन । नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रर्दशन गरेका छन् । नेविसंघको साथै पार्टी पनि विधि र विधान अनुसार संचालन नभएको भन्दै विद्यार्थीले नेतृत्वको ध्यानाकर्षण गराउँदै पार्टी कार्यालय सानेपामा प्रर्दशन गरेका हुन् ।
केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय पुगेका सभापति शेरबहादुर देउवालाई विद्यार्थी नेताले चश्मा उपहार पठाएका छन् । विधि र विधान अनुरुप चल्नका लागि अध्याँरोबाट उज्यालोमा आउने सन्देश स्वरुप चश्मा उपहार दिएको उनीहरुले बताएका छन् ।
‘विद्यार्थीले जिद्दीले होइन विधिले चलौ, वेथितिले होइन विधिबाट चलौं’ भन्दै पार्टी भित्रको वेथितिका बारेमा केन्द्रीय कार्यालय परिसरभित्रै चर्को नाराबाजी गरेका थिए ।
केन्द्रीय महाधिवेशन भएको झण्डै डेढ बर्ष भईसक्दा पनि जिल्ला तथा क्याम्पसको अधिवेशन नभएको, नेविसंघका सभापतिले मनोमानी ढंगमा क्याम्पसका अध्यक्ष तोक्ने काम गरिएको असन्तुष्ट विद्यार्थीले आरोप लगाएका छन् ।
विद्यार्थी नेता मनोहरि श्रेष्ठले पार्टी विधि र विधान अनुरुप संचालन हुनुपर्छ भन्दै बुझाएको १० बुँदे माग लामो समयसम्म पनि सम्बोधन नभएपछि नेवि संघको प्रतिष्ठालाई जोगाउदै आफुहरु शान्तिपुर्ण विरोधमा उत्रिएको बताए ।
केन्द्रीय कार्यसमिति बैठकका लागि आएका सबै नेतालाई भेटेर विद्यार्थीले ज्ञापनपत्र दिदै आफ्ना मागबारे केन्द्रीय समिति बैठकमा छलफल गर्न ध्यानाकर्षण गराए । विद्यार्थीले नेताहरु रामचन्द्र पौडेल, गगन थापा, रमेश लेखक लगायत नेतालाई माग सम्बोधनका लागि पहल गर्न ध्यानाकर्षण गराएका थिए ।
पार्टी नेतृत्वले नेविसंघलाई विधिसम्मत ढंगले नचाई भताभुंग बनाउन सहयोग गरेको आरोप लगाउँदै धर्नामा बसेका विद्यार्थीहरुले पार्टी बैठकको ध्यानाकर्षण गराउन चाहेको बताए ।
नेविसंघको असन्तुष्ट पक्षबाट काँग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन
0
Share.
Comments