काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरेका रेशम चौधरीलाई आममाफी दिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
दुई साताअघि २ जेठमा सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी चौधरीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गरेको थियो । तर, सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आउनुअघि नै उनलाई आममाफी दिने कार्यले अदालतलाई हेपेको थापाको भनाइ छ ।
सरकारको सिफारिसमा आइतबार राष्ट्रपतिबाट आममाफी पाएपछि चौधरी सोमबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका छन् । ७ भदौ २०७२ मा सात सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा चौधरीलाई तीन तहकै अदालतबाट दोषी ठहर गरेको हो ।
यही विषयलाई दिएर सोमबार नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अदालतलाई हेप्न नहुने बताए । आफूलाई अफ्ठ्यारो पर्दा विधिभन्दा बाहिर गएर निर्णय गर्न नहुने उनको भनाइ छ ।
प्रकाशित मितिः २०८० जेठ १५ सोमबार
Comments