काठमाडौं । बाग्मती प्रदेशको बैठक सुरु भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बाग्मती प्रदेशको बैठकमा विश्वासको मत लिदैंछिन् । केही समयअघि मात्र प्रदेशको बैठक सुरु भएको छ । भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा परेकी थिइन् ।
त्यसपछि मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । बाग्मतीमा एमालेको ४३ सांसद रहेको छ । सत्ता गठबन्धन दल माओवादीको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाको १ सांसद रहेको छ। यसैगरी विवेकशील साझा पार्टीको ३, नेमकिपाको २ र राप्रपाको २ जना सांसद वाग्मती प्रदेशमा रहेका छन् ।
एमालेले बैठक ११ गतेका लागि बोलाउन प्रस्ताव गरेको थियो। कात्तिक पहिलो हप्ताभित्र नेकपा एमालेको स्थानीय अधिवेशन हुने र सो अधिवेशनका कारण एमालेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु बैठकमा उपस्थित हुन नसक्ने कारण देखाउँदै बैठक ११ गते सार्न दलका प्रमुख सचेतक दीपक निरौलाले प्रदेशसभा समक्ष लिखित प्रस्ताव गरेका थिए।
प्रकाशित मितिः २०७८ कार्तिक ०४ बिहिबार
Comments